वेणी भोला नमूना मावि गोडैतामा चुनावबाट व्यवस्थापन समिति चयन
- सदाम हुसैन
सर्लाही, १७ चैत । सर्लाहीको गोडैतामा रहेको वेणी भोला नमूना माध्यमिक विद्यालयमा चुनाव गरेर व्यवस्थापन समिति गठन गरिएको छ । अभिभावक भेलाबाट सर्वसम्मत रुपमा व्यवस्थापन समिति चयन हुन नसकेपछि गोडैता नगरपालिका–८ मा रहेको यस विद्यालयमा मतदानमार्फत समिति चयन गरिएको हो । व्यवस्थापन समितिका चार जना सदस्य चयन गर्न बुधबार बिहान साँढे ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । यो विद्यालयमा १८ सय ८५ मतदाता अर्थात् अभिभावक छन् । उनीहरुले नै मतदान गरेर व्यवस्थापन समिति चुनेका हुन् । बिहीबार बिहान सम्पन्न मतपरिणामअनुसार व्यवस्थापन समितिको सदस्यमा महिलातर्फबाट ६०५ मत ल्याई रोजैदा खातुन र ५९५ मत ल्याई रंगिता कुमारी यादव विजयी भएका छन् । यस्तै, पुरुषतर्फ ५८६ मत ल्याई सरोज राउत र ५७१ मत ल्याई जितेन्द्र दास विजयी भएका छन् । रंगिता कुमारी लोसपा र एमालेको समर्थनमा व्यवस्थापन समितिको सदस्यमा विजयी भएका हुन् । रोजैदा, सरोज र जितेन्द्र भने कांग्रेसबाट विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारलाई अन्तिम समयमा आएर जनमत पार्टीले समेत सहयोग गरेको थियो । विद्यालय व्यवस्थापन समितिको यो चुनावलाई दलहरुले सांसदकै चुनाव झैँ गरी प्रचारप्रसार र एक–अर्काविरुद्ध रणनीति बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दल र जनप्रतिनिधि नै विद्यालय व्यवस्थापन समितिमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागिपरेका थिए । गोडैताको यो विद्यालयमा व्यवस्थापन समिति चयन गर्न योसहित गरी ५६ पटक नै चुनाव भइसकेको छ । यो विद्यालयमा अहिले २२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक रामचन्द्र चौधरीले जानकारी दिए ।