News

राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फारम स्थानीय तह बाटै भर्ने व्यवस्था मिलाउने निर्णय

सदाम हुसैन
सर्लाही, २३ माघ । सर्लाहीमा स्थानीय तहकै कार्यालयबाट राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच सोमबार बसेको समन्वय बैठकले पालिकबाटै अनलाईन फाराम भर्ने व्यवस्था मिलाउन लागि पर्ने निर्णय गरेको हो । सेवाग्राहीको बढ्दो चापले गर्दा नागरिकता जारी गर्न त गाह्रो परिरहेको प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्नेदेखि सम्पूर्ण काम गर्दा सिमित कर्मचारी र सेवाग्राही अधिक हुँदा समस्या भइरहेकाले स्थानीय तहबाटै अनलाईन फाराम भर्ने व्यवस्था मिलाउने र फोटोखिच्ने लगायत बायोेमेट्रिक कामका लागि मात्रै प्रशासन कार्यालयसम्म आउने व्यवस्था मिलाउने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सर्लाहीमा अहिले जिल्ला प्रशासन कार्यालय मलंगवा र इलाका प्रशासन कार्यालय हरिवनबाट राष्ट्रिय परिचय पत्र र राहदानीको काम हुने गरेको छ । तर, यि कार्यालयमा कर्मचारी थोरै रहेको र सेवाग्राहीको चाप अत्यधिक हुँदा सेवा प्रवाहमै हम्मेहम्मे परिरहेको छ । राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राही धेरै दिन धाउनुपर्ने र पट्यारलाग्दो लाईनमा दिनभर नै बस्नुपर्ने बाध्यता छ । सेवाग्राहीको त्यस प्रकारको हैरानीलाई कम गर्न सकिन्छ की रु भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवको भनाई छ । प्रशासन कार्यालयको तुलनामा पालिकासँग कर्मचारी धेरै नै हुने भएकाले यो उपयुक्त हुने विश्वास गरिएको छ । बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्रशासन कार्यालयका प्राविधिकसँग पालिकाका कर्मचारीले सिकेपश्चात स्थानीय तहबाटै राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्ने व्यवस्था मिलाउन सकिने बताए । उनले कर्मचारीले सिकेपछि आवश्यक तयारी गरी फाराम भर्ने कार्यको सुरुवात गर्न भने केही समय लाग्न सक्ने बताएका छन् । हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले यसअघि सबै पालिकामा एकचरण राष्ट्रिय परिचय पत्रको विवरण लिन जिल्ला प्रशासन कार्यालयबाट पालिकाहरुमै टोली पठाइसकेकाले अब पालिकाले नै फाराम भर्ने कामको सुरुवात गर्दा खासै ‘लोड’ नथपिने र त्यो सम्भव पनि हुने बताए । यस्तै, प्रजिअ र प्रमुख प्रशासकीय अधिकृतबीचको बैठकमा यहाँका २० वटै स्थानीय तहमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरु गएर नागरिकसँग संवाद गर्नका लागि ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम संचालन गर्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । बैठकमा ११ नगरपालिका र ९ गाउँपालिकामध्ये अधिकांश पालिकाका प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो ।
सोबार बसेको प्रजिअ र प्रमुख प्रशासकीय अधिकृतबीचको बैठक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *