Health

रंगीन र गुलियोले स्वास्थ्यमा कस्तो असर पार्छ ?

राजधानीका चर्चित पसलेले विषाक्त रसायन र हानिकारक वस्तु मिसाएर फोहोर र दुर्गन्धित स्थानमा मिठाई बनाइरहेको तथ्य टोलीले केही वर्षअघि अनुगमन गर्दा उजागर भएको थियो। अखाद्य रङ, पिठोलगायतका वस्तु, जनावरको बोसो, आन्द्रासमेत मिसाई मिठाई बनिरहेको भेटियो।

मिठाई बनाउने ठाउँ दुर्गन्धित, फोहोर पानी, हिलाम्मे भुइँ, मुसा, बिरालाका दिसा, झिँगा, माकुरा, साङ्ला, मौरी मरिरहेका डम्पिङसाइटजस्तै देखिन्थ्यो। अनुगमनकारी एक हातले नाक छोप्दै अर्का हातले लगाएको पाइन्ट तानिरहन्थे। शाकाहारी होइन मांसाहारी पो रहेछ मिठाई भन्ने महसुस भएको थियो। विद्यमान ऐन–नियमअनुसार उत्पादन र उपभोग मिति, ब्याच नम्बर, तौल केही पनि लेखिएको थिएन। एक दशक बित्दा पनि अवस्था उस्तै छ। यो वर्ष त कोरोना महामारीले अनुगमन पनि भएको सुनिएन।

खाद्य मिसावटलाई राष्ट्रिय मानवअधिकार आयोगले मानव अधिकार उल्लंघनकै रूपमा व्याख्या गरेको छ। खाद्य अधिकारलाई संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको छ। त्यस्तै पैसा तिरेपछि त्यसअनुसारको माल नपाउनु पनि आर्थिक अधिकारसँग सीधै जोडिन्छ। स्वस्थ खान नपाउनु खाद्य अधिकार हनन हो।

चर्चा रङ र रंगीन मिठाईको
रङको चाड होली भए पनि चर्चाचाहिँ तिहारमा हुने गर्छ। खाद्यवस्तुमा रङको महत्व, गुणस्तर तथा स्वास्थ्य असरबारेमा पत्रपत्रिकामा धेरै लेख, समाचार लेख्ने, टेलिभिजनमा कार्यक्रम प्रसारण हुने र पसलमा अनुगमन पनि हुने गर्छन्। चाडबाडमा विशेषगरी तिहारमा तत्पश्चात् न कारबाही नै हुन्छ न परीक्षणको नतिजा आउने गर्छ।

मिठाई यति धेरै छन्, सबैको नाम थाहा पाउन सकिँदैन। नयाँनयाँ मिठाई र मिठाईपसल आकर्Èक रूपमा आएका छन्। मिठाईपसल र मिठाई सजाइएका मात्र हँुदैनन्, आकर्Èक प्याकिङ, डिजाइन तथा स्तरीय सेवाले पनि ग्राहक तान्न सफल भएका छन्। चम्किने सबै वस्तु हीरा हुँदैनन् भनेजस्तै व्यापारिक क्षेत्रमा पनि आकर्षक देखिने सबै वस्तु राम्रा हँुदैनन् भन्ने तथ्यमा ध्यान दिनुपर्छ।

खुला र प्याक गरिएका सामानमा हुन सक्ने भिन्नता जान्नैपर्छ। प्याक गरिएका, आकर्Èक, रंगाइएका सामान केही सस्तो, कम गुणस्तरको, फरकफरक किसिमको थुप्रै सामान मिसाइएको, तौलमा समेत आकाश–पातालको फरक पर्न सक्छ र धन, मन र जनको नाश हुन्छ। बजारमा भएका रंगीन र आकर्षक मिठाई देखेर मन लोभ्याउँदा सेकेन्डका लागि मीठो र स्वादिलो भए पनि मिनेट, घन्टा र दीर्घकालीन बेफाइदा पुर्‍याउँछ।

हानिकारक रंगीबिरंगी मिठाई
कतिपय मिठाईमा विभिन्न प्रकारका रङ, सिम्रिक, सिन्दूर, अबिर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रीन, मालाचिट ग्रीन, मेटालिन एल्लो, ओरेन्ज जी, नेप्थोल, एल्लो एस, अउरामिन, केशरी तथा चम्पारङ विषालु र बढी मात्रामा खाद्य रङ क्यारोटिन, एनाटो, विकजिन, कार्नेन, खैरो चिनी र खाद्य नियमावलीमा उल्लेख खाद्य रङ तथा एडिटिभ प्रिजरभेटिभ प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीमा स्वास्थ्यमा दीर्घकालीन असर पर्छन्। ढुसी परेका र ओसिएका खाद्य पदार्थ पुछेर, धोएर वा सुकाएर पनि खानु हुँदैन। किनभने यसमा रहेका टक्सिनले क्यान्सर रोग जन्माउन सक्छ। यस्ता खाद्य सेवन गर्दा पेट गडबड गराउने, रातो रक्तकोष नष्ट, रगतको कमी, रोगसँग लड्ने क्षमता घट्ने, भित्री अंग कलेजो, मुटु, मिर्गौला कमजोर हुने र चर्मरोग लाग्न सक्छ। बाँझोपन, आँखा, कान कमजोर, सन्तान लुला, लंगडा एवं अपांग हुन सक्छन्। सन्तानलाई ट्युमर र क्यान्सर हुन सक्छ। कलेजो, पेटको समस्या र हड्डी दुख्ने समस्या पनि देखिन्छ।

मिठाईलाई चम्किलो रातो बनाउन रोडाइमान बी, हरियोका लागि मालाच्युट ग्रीन, पहेंलोका लागि मेटालिन एल्लो प्रयोग भएका थिए, जुन औद्योगिक प्रायोजनका लागि बनाइएका रङ हुन्। चप, पकौडाजस्ता पहेंला रङ हुने खाद्य परिकारमा समेत मेटालिन एल्लो पाइन्छ। गलैंचा र कपडा रंगाउने यस्ता रङ हालेर बनाइएका परिकार लामो समयसम्म खाँदा क्यान्सर रोगसम्म लाग्न सक्छ। रगतको हेमोग्लोविन नष्ट पार्ने फास्टरेड कार्मोइसिन रातो रङ दिन, आँखाको दृष्टिशक्ति कमजोर पारी अन्धो बनाउने एफसीएफ सेन्सेन्ट कार्मोइसिन, मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने केशरी रङ जेरी, चप, पकौडा, सेल र बिस्कुटमा पहेंलो रङ दिन, पुरुषको शुक्रकिट नष्ट गरी बाँझोपन बनाउने ब्रोमोनेट तेल, पेय पदार्थमा बाक्लोपना र रङ सुरक्षित गर्न र मिठाईलाई आकर्षक तुल्याउन चाँदीको पातलो पत्र तपक, बर्फी र लड्डु राख्न प्रयोग गरिन्छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन। रोडामाइन बीले मिर्गाेलार अण्डकोषमा क्षति, मालाचाइटले फोक्सोमा पानी जम्ने, मालासाइट ग्रिनले फोक्सो, स्तन, पाठेघर र कलेजोमा घाउ, लेड क्रोमेट, कपर सल्फेट र आइरन अक्साइडले प्यारालाइसिस र गर्भपतन प्रमुखत: पर्छन्।

अन्त्यमा मिठाई वा खानामा प्रयोग गर्न सकिने भनी सरकारले आठवटा प्राकृतिक तथा ११ वटा कृत्रिम वा सिन्थेटिक रङ स्वीकृत गरेको छ। खाद्य रङ पनि प्रतिकिलो मिठाईमा दुई मिलिग्रामसम्म प्रयोग गर्न सकिन्छ। त्योभन्दा बढी भए यसले पनि स्वास्थ्यमा हानि गर्छ भने अखाद्य रङले क्यान्सरसम्म। बजारमा भने मिनरल, अखाद्य, घर, टेबल रंगाउने पेन्ट, लिपिस्टिक, लाइनर, म्वास्चराइजर, नङपालिसजस्ता कस्मेटिक सामानमा विभिन्न रङ, रसायन तथा कपडा रंगाउने रङ, मसीसमेत प्रयोग भइरहेका छन्। तसर्थ रङ प्रयोग नगरिएका मिठाई, तरकारी, खाद्यपदार्थ खानु राम्रो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *