Sports

मिलानले अग्रता छोट्याउने मौका गुमायो

क्रेमोनेसीसँग गोलरहित बराबरीमा रोकिएसँगै साविक विजेता एसी मिलानले इटालियन सिरी ‘ए’मा लिग लिडर नेपोलीसँग अग्रता छोट्याउने मौका गुमाएको छ। मंगलबार राति क्रेमोनेसीको मैदान जियोभानी जिनीमा भएको खेलमा मिलानले आक्रमण अवसर बुने पनि फिनिसिङमा चुक्दा बराबरीमा चित्त बुझाउनु पर्‍यो।

भ्रमणकारी मिलानले गरेका १६ मध्ये ६ प्रहार घरेलु टिमको गोल पोस्टमा थिए। तर, कुनै प्रहार गोलमा कन्भर्ट भएनन्। बराबरीसँगै एक अंक जोडेको मिलान १४ खेलबाटट ३० अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको नेपोलीको समान खेलबाट ३८ अंक छ। पराजित क्रमोनेसी १४ खेलबाट सात अंकसहित १८औं स्थानमा छ।

मंगलबार राति नै भएको अर्को खेलमा स्पेजिया र युडिनेसीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। स्पेजियाको मैदानमा भएको खेलको ३३ औं मिनेटमा अर्काडिउस्ज रेकाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा सान्डी लोभरिचले गरेको गोलसँगै उडिनेसीले बराबरी गरेको थियो। दोस्रो हाफमा थप गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे।

बराबरीसँगै १४ खेलबाट २४ अंक जोडेको उडिनेसी तालिकाको आठौं स्थानमा छ। समान खेलबाट १० अंक जोडेको स्पेजिया १६ औं स्थानमा छ। -एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *