HealthNews

मलंगवामा फागुन ११ देखि हात्तिपाइलेविरुद्धको औषधि खुवाइने

सदाम हुसैन
सर्लाही, ०९ फागुन । सर्लाहीको मलंगवा नगरपालिकामा पनि फागुन ११ गतेदेखि १२ वटै वडामा एकैसाथ हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा नगरभित्र फागुन ११ गतेदेखि नगरवासीलाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जानकारी गराइएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक रामनन्दन राय यादवले नगरभित्र करिव ३० हजार जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको बताए । उनले फागुन ११ गतेदेखि २ सातासम्म अभियान चलाउने केन्द्रबाट निर्णय भएको र आफूहरुले सकभर हप्तादिनभित्रै अभियान सक्ने गरी काम गर्ने बताएका छन् । गोष्ठीमा मलंगवा नगरपालिकाका मेयर (प्रमुख) नागेन्द्र प्रसाद यादवले हात्तिपाइलेको औषधि भनेपछि अहिले पनि समाजमा अनेक भ्रम र हल्ला ब्याप्त रहेकाले सबैले कुनै शंका नगरी औषधि सेवन गरी अभियानलाई सफल बनाइदिन आग्रह गरे । नगरपालिकाका मेयर यादवले फागुन ११ गते उहाँले आफै औषधि खाएर यो अभियानको उद्घाटन गर्ने बताए ।नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक यादवका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख तथा जनस्वास्थ्य अधिकृत डा. नवल किशोर झाले दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मका सुत्केरी, छारे रोगी र पहिलेदेखि आम औषधि सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि खानु हुँदैन् । नत्र, अन्य व्यक्तिले औषधि सेवन गर्नुपर्ने गोष्ठीमा सहभागी स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख झाले बताए । शरीरमा हात्तिपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खलको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने र त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्ने चिकित्सकहरु बताउँछन् । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने झाले बताए । चिकित्सकले कुनै हल्लाको पछि नलागी हात्तिपाइलेको औषधि सेवन गर्न आग्रह गरेका छन् । मलंगवा नगरपालिकाको प्रमुख अधिकृत गेहनाथ गौतमको अध्यक्षतामा आयोजित गोष्ठीमा विभिन्न संचारकर्मी उपस्थिति रहेको थियो । मलंगवा नगरपालिकाको १२ वटै वडामा फागुन ११ गतेदेखि हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *