मलंगवामा पसल खुलेपछि बढ्यो चहलपहल
सर्लाही,२५ जेठ । सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीले साताका तीन दिन बिहान १० बजेदेखि ५ बजेसम्म खाद्यान्न तथा किराना पसल तथा तीन दिन तरकारी बजार सञ्चालन गर्न अनुमति दिएपछि मलंगवा बजारमा सर्वसाधारणको चहलपहल बढेको हो ।समाजिक दूरीलाई कायम राख्दै कपडा, बिजुली, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका पसल सञ्चालनमा आएपछि सदरमुकाम मलंगवाका व्यापारी र उपभोक्ता दुवै खुशी भएका छन् । कोरोनाका कारण अवरुद्ध भएको आर्थिक गतिविधि बजार खुलेसँग विस्तारै सहज हुँदै जाने विश्वास प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले व्यक्त गरे । जिल्लामा रहेको औषधि, किराना तथा दूध, लगायतका उपाभोग्य वस्तुको पसल निर्वाधरूपमा सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ ।

