जिंगडवा प्राविलाई पर्सा गाउँपालिकाद्धारा दुई कोठे भवन हस्तान्तरण
पर्सा,०९ असोज । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–४, जिंगडवा रहेको प्राथमिक विद्यालयलाई दुई कोठे भवन निर्माण गरी हस्तान्तरण गरिएको छ । सिकाई परियोजना अन्तर्गत अष्ट्रेलियन सरकारको सहयोगमा राष्ट्रिय रोजगार प्रवर्द्दन केन्द्र मलंगवाले विद्यालयमा दुई कोठे ट्रष्ट भवन निर्माण गरिदिएको हो । गत वर्षको पुस १७ गते काम सुरु गरी साउन १३ गते भवन निर्माणको काम पूरा भएको राष्ट्रिय रोजगार प्रवर्द्दन केन्द्र मलंगवाले जनाएको छ ।कोरोना संक्रमणको कारणले निर्माण पूरा भएको केही समयपछि भवन हस्तान्तरण गरिएको हो । २१ लाख ४ हजार १७७ रुपैयाँ लागतमा भवन निर्माणदेखि रंगरोगनको सम्पूर्ण काम पूरा गरी सहयोगी संस्थाले आफूहरुलाई हस्तान्तरण गरेको पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले जानकारी दिए ।