घाम लागेकाले सर्लाहीमा आज पनि गर्मी
सदाम हुसैन
सर्लाही, २७ बैशाख । सर्लाहीमा एक सातादेखि निरन्तर बढेको गर्मी र चर्को घाम अझै कायमै छ । यस क्षेत्रमा आज पनि बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महशुस भइरहेको स्थानीयले बताएका छन् । यहाँ १ सातादेखि बिहान सूर्योदय हुँदादेखि नै घरबाहिर निस्कन गाह्रो पर्ने गरी चर्को घाम लाग्ने गरेको छ । तापक्रम दिनहुँ बढ्दा मानिस प्रभावित भइरहेका छन् । गर्मी र धुलो–धुँवाको प्रकोपले धेरै मानिस बिरामी नै पर्न थालेका छन् । टाउको दुख्ने, घाँटी दुख्ने, झाडापखाला, अपज, ज्वरो, रुघाखोकीलगायत गर्मीजन्य संक्रमणका बिरामी जताततै बढेका छन् । चिकित्सकले यो मौसममा प्रशस्त पानी पिउन र खानपानमा सावधानी अपनाउन आग्रह गरिरहेका छन् । गर्मी बढ्दा मध्यान्हपख यहाँको गाउँबस्ती र बजार क्षेत्र सुनसान नै हुन्छन् । गर्मीले विद्यालय जानुपर्ने बालिकालिका, खेतमा काम गर्नुपर्ने किसान र मजदुरीमा निस्कनुपर्ने मजदुर प्रभावित भइरहेका छन् । अत्यधिक गर्मी र रातको समयमा लामखुट्टेको प्रकोप अत्यधिक बढ्दा यस क्षेत्रका मानिस कष्टपूर्ण किसिमले दिनचर्या बिताउन बाध्य भइरहेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।

