कोरोना परीक्षणमै ढिलाइ , दुई सातामा पनि आएन पीसीआर रिपोर्ट
मलंगवा,३२ जेठ । सर्लाहीको मलंगवा नगरपालिकामा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । स्वाब संकलन गरि कोरोना परिक्षणका लागि प्रयोगशालामा पठाईएको दुई साता बितिसक्दा पनि रिपोर्ट आउन नसकेको हो । भारत लगायतका विभिन्न ठाउँबाट मलंगवा भित्रिएका नागरिकलाई स्थानीय तहले अनिबार्य रुपमा क्वारेन्टिनमा राख्ने गरेका छन । १४ दिन क्वारेन्टिनमा राख्ने र उक्त समयमा पिसिआर चेकजाँच गरेर नेगेटिभ रिर्पोट आएमा घर पठाउने गरिन्छ । क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि स्वाब सङकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरिएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । मलंगवा नगरपालिका स्थित कवर्ड हलका क्वारेन्टिनमा बसेकालाई खाना खुवाउनेलगायत व्यवस्थापनमा हजारौं खर्च बढिरहेको भन्दै नगरपालिका प्रमुख निरसल साह चिन्तित बनेका छन् ।स्वाब परीक्षणको रिपोर्टमा ढिलाइ हुँदा सामाजिक–आर्थिक रूपमा निकै कठिनाइ बेहोर्नुपरिरहेको प्रमुख निरसल साहले गुनासो गरे । ‘मेरो नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसिरहेका ८८ जनाको १७ गते तथा ८७ जनाको १९ गते स्वाब जनकपुर पठाएको हो,’ प्रमुख साहले भने, ‘तर पछि जनकपुर अस्पतालले फेरि काठमाडौंस्थित टेकु अस्पताल नै पठायो रे, अहिले त जनकपुरले काठमाडौंलाई अनि काठमाडौंले जनकपुरलाई दोष देखाएर ढिलाइ भइरहेको आरोप लगाउने गरेका छन् ।’ भाडा लगायतमा १० हजार रुपैयाँ हाराहारी कम खर्च लाग्ने भनेर सुरुमा जनकपुर पठाउँदा अहिले लाखौं डुब्ने अवस्था आएको प्रमुख साहले बताए । ‘जनकपुरमा पनि नयाँ मेसिन आयो रे, राम्रोसँग काम गर्छ रे भनेपछि काठमाडौं पठाउँदा भन्दा १० हजारजति कम खर्च लाग्छ भनेर त्यता पठाइयो’, प्रमुख साहले गुनासो गरे, ‘तर त्यहाँ जाँचिसकेपछि पनि फेरि मेसिनले काम गरेन रे भनेर स्वाब गज्याङगुजुङ पारेर अव्यवस्थित ढंगले बोरामा हालेर काठमाडौं पठाइएको भन्ने सुनेका छौं, स्वाब पठाउन १० हजार रुपैयाँ कम लाग्छ भनेर काठमाडौंको सट्टा जनकपुर पठाइयो, अहिले परीक्षण रिपोर्टमा ढिलाइ हुँदा दैनिक २० हजारभन्दा बढी क्वारेन्टिन स्थलमा खर्च गर्नुपरिरहेको छ ।’जिल्लास्थित विभिन्न पालिकाको क्वारेन्टिनमा बसेकाहरूको स्वाब परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा समस्या बढ्दै गएको प्रजिअ मोहन जिसीले बताए । ‘स्वाब परीक्षण रिपोर्टमा ढिलाइ हुँदा एकातिर क्वारेन्टिन स्थलमा बसेकाहरू आक्रोशित बनिरहेकाले शान्ति सुरक्षामा समस्या बढिरहेको छ,’ प्रजिअ जिसीले भने, ‘अर्कोतिर रिपोर्ट आउन ढिलाइ हुँदा एकै ठाउँमा बसिरहेकामध्ये पोजेटिभ केस आए अन्य नेगेटिभवालाहरूलाई पनि संक्रमण फैलिसकेको हुन सक्ने त्रास बढेको छ ।’ रिपोर्ट तुरुन्त नआए क्वारेन्टिन स्थल नै कोरोना भाइरस संक्रमण फैलने ठूलो माध्यम बन्न सक्ने देवश्री पोलिक्लिनीक मलंगवा –९ का सस्ंथापक तथा चिकीत्सक सोनेलाल यादवले बताए । प्रजिअ जिसीका अनुसार मलंगवा, हरिपूर्वा, चन्द्रनगर, लालबन्दी, कौडेना, हरिवन लगायत विभिन्न पालिकाको क्वारेन्टिनमा बसेकाको स्वाब निकालेर पठाए पनि रिपोर्ट आउन ढिलाइ हुँदा तनाव बढ्दै गएको छ । ‘पहिला स्वाब प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो, पछि त्यहाँबाट पुनः काठमाडौं पठाइएछ’, प्रजिअ जिसीले भने, ‘अहिले दुवैतिर ताकेता गर्नुपरिरहेको छ, एक ठाउँबाट अर्को ठाउँलाई देखाएर ढिलाइ हुँदा हामी मारमा परिरहेका छौं ।’

