कियाराले अप्रिलमा लगनगाँठो कस्ने
बलिउड अभिनेत्री कियारा आडवाणीले सन् २०२३ को अप्रिलमा लगनगाँठो कस्ने भएकी छन्। लामो समयदेखि अभिनेता सिद्धार्थ मल्होत्राको प्रेममा रहेकी कियाराले उनीसँगै लगनगाँठो कस्न लागेकी हुन्।
कियारा र सिद्धार्थ लामो समयदेखि प्रेममा रहे पनि उनीहरूले आफ्नो सम्बन्धलाई गुपचुप राख्दै आएका थिए। भारतीय मिडियाको क्यामरामा यी दुई धेरै पटक कैद भइसकेका थिए। जहाँ जाँदा पनि यी दुई सँगै हुथे। तर, यी दुईले आफ्नो सम्बन्धका बारेमा भने केही पनि बोलेनन्। दुवैले आफूहरू मिल्ने साथी भएको दाबी मात्रै गर्दै आएका थिए।
टेलिभिजन शो ‘कफी विथ करण’को सातौं सिजनमा यी दुईबीचको सम्बन्ध खुलासा भएको हो। सन् २०१८ मा यी दुईबीच ‘लस्ट स्टोरिज’ फिल्मको पार्टीमा पहिलोपटक भेट भएको थियो। त्यसपछि ‘शेर शाह’को छायांकनका क्रममा उनीहरूले अनस्क्रिन रोमान्स गरेको खबर बाहिरिएको थियो। ‘बलिउड लाइफ म्यागजिन’का अनुसार पछिल्लो समय यी दुईबीच गोप्य रुपमै विवाहको तयारी भइसकेको छ। परिवारका सदस्य र आफन्तको उपस्थितिमा वैवाहिक कार्यक्रम गर्ने योजनासमेत बनाइसकेको ‘बलिउड लाइफ म्यागजिन’को दाबी छ। बलिउड कलाकार धेरै जनालाई निम्तो नगरिने र सिद्धार्थको परिवार तथा नातेदारको उपस्थितिमा दिल्लीमा विवाह हुने जनाएको छ।
‘शेर शाह’ चलचित्रबाट दुवै कलाकारले निकै राम्रो प्रतिक्रिया पाएका छन्। गत अगष्ट १२ मा रिलिज भएको चलचित्रमा सिद्धार्थले कारगिलका हिरो क्याप्टेन विक्रम बत्राको भूमिका निर्वाह गरेका थिए। कियरा भने सिद्धार्थसँग रोमान्टिक नायिकाको भूमिकामा प्रस्तुत भएकी छन्। केही समय पहिले कियराले लगाएको दुई लाख १७ हजारको गाउनले पनि छुट्टै चर्चा कमाएको थियो।
सेतो रंगको पहिरनमा उनी निकै सुन्दर देखिएकी थिइन्। उनको सुन्दरता सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको थियो। उनको गाउनको डिजाइन चर्चित डिजाइनर राल्फ लाउरेनले गरेकी थिइन्। जसको मूल्य दुई लाख १७ हजार रुपैयाँ भारतीय रुपैयाँ रहेको थियो। –एजेन्सी