News

गर्मी बढेपछि सर्लाहीमा ४ दिन विद्यालय बन्द गर्न सिफारिस

सदाम हुसैन-

सर्लाही, १९ जेठ । अत्यधिक गर्मी बढेर जनजीवन प्रभावित भएपछि ४ दिनको लागि विद्यालय बन्द गर्न सिफारिस गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जिल्लाका सबै पालिकालाई ४ दिन विद्यालय बन्द गर्न सिफारिस गरेको हो। इकाई प्रमुख अशोक कुमार रौनियारले शुक्रबार गर्मी बिदा सम्बन्धमा एक सूचना जारी गर्दै सर्लाहीका ११ वटा नगरपालिका तथा ९ वटा गाउँपालिका कार्यालयलाई ४ दिन विद्यालय बन्द गर्न सिफारिस गरेका हुन्।

अत्यधिक गर्मीको कारण विद्यालयको पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बिधालयका बालबालिका मुर्छितसमेत पर्ने भएकोले वर्षे बिदाबाट कट्टा हुने गरी ४ दिन विद्यालयमा गर्मी बिदा गरिदिनु हुन इकाई प्रमुख रौनियारले अनुरोध गरेका हुन्।

जिल्लाको अधिकांश विद्यालयमा बिहानीको समयमा कक्षा संचालन भइरहेको भए पनि छुटीको बेलामा अत्यधिक गर्मी हुने तथा घर जान समस्या हुने भइरहेको देखिएको छ। यसैगरी विद्यार्थीको अत्यधिक चाप हुने कक्षाकोठामा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई धेरै समस्या भइरहेको पनि देखिएको छ।

कक्षा संचालनमा कठिनाइ उत्पन्न भइरहेको तथा कतिपय विद्यालयमा बालबालिका अत्यधिक गर्मीले मुर्छित भएको सूचना आएकोले ४ दिनको लागि विद्यालय बन्दको सिफारिस गरिएको इकाई प्रमुख रौनियारको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *